पर्यटकको रोजाइ बन्दै खुमैडाँडा

सोमबार, चैत १३, २०७९

अन्नपूर्ण–खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । 

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए । 

यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए ।

‘केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ,’ उनले भने, ‘पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।’

बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए ।

‘खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुपर्यो भन्ने निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्