सेती नदीको दोहन रोक्न संरक्षण अभियान

आइतबार, चैत १२, २०७९

पोखरा –अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ ।

नदीबाट अवैज्ञानिक रूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्र रूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट तीव्र रूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन् ।

सेती नदीबाट बढ्दो शहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्न अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले बताए ।

नदी संरक्षण अभियानलाई संरक्षण संस्थाका रूपमा अघि बढाउँदै सेती नदीको वैज्ञानिक नक्साङ्कन गर्न सरोकारवाला निकायमा पैरवी गरिने उनले बताए । उनले भने, ‘सेती नदी संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गर्नेछौं ।’

सेती नदी र यसका मुख्य सहायक नदीहरूको जलाधार लगायत जल, जमिन, जङ्गल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिकस्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोग सम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने गरिने पौडेलले बताए ।

सुरुआतमा सेती नदी बचाउ अभियानको कार्य क्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ । वडाहरूमा सेती नदी बचाऔ जनअभियानका भेलाहरू भएर वडास्तरीय समिति गठन गरिएको छ । सेती बचाउ अभियानले यसअघि पोखरा महानगरपालिका–१९ र माछापुच्छ्रे गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनाश बढेको भन्दै उत्खनन बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

सेती नदीबाट ढुङ्गा, माटो, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले ८ चैतबाट तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि समेत उत्खनन नरोकिएको भन्दै अभियन्ताहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सेती नदी र मर्दी नदी दोभान आसपास डोजर, एक्साभेटर लगायतका सामग्री प्रयोग गरी नदी दोहन भइरहेको भन्दै पौडेलले अदालतमा रिट निवेदन दिएका थिए । यसबीच सेती संरक्षण अभियानको शनिबार भएको भेलाले अभियन्ता पौडेलको अध्यक्षतामा सेती संरक्षण संस्था दर्ता गर्ने गरी तदर्थ समिति गठन गरिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्