तत्कालीन नेकपा पुनर्जिवित गर्न माधव नेपालको प्रस्ताव

शुक्रबार, चैत १०, २०७९

काठमाडौं -नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । 

भूतपूर्व सैनिक तथा प्रहरी संगठनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन नेकपा पुनर्जिवित गर्न प्रस्ताव गरेका हुन् ।

‘आजै बिहान प्रधानमन्त्रीसँग मेरो कुराकानी भएको छ । मैले नेकपालाई ‘रिभाइभ’ गरौं प्रस्ताव गरें’, नेपालले भने ।

राष्ट्रपतिको चुनावका बेला नेकपा ब्युँताउने प्रस्तावमा प्रचण्ड तयार भएको उनको दाबी छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही प्रस्ताव पठाउँदा चासो नदिएको नेपालको भनाइ छ । 

२०७९ सालको चुनावमा एमाले नेतृत्वको अहंकारले कम्युनिस्ट पार्टीले धक्का खाएको नेपालले बताए ।

अध्यक्ष नेपालले कोर्ष परिवर्तन गर्न भन्दै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने भन्नेहरू कोठे बैठक गरिरहेको पनि बताए ।

उनले राजनीतिले एउटा दिशा लिएको र कसैले टाउको फुटाए पनि परिवर्तन नहुने बताए । 

‘कोर्ष परिवर्तनका लागि भन्दै राजा आऊ, देश बचाऊ भन्नेहरू गोप्य बैठक गरिरहेको छ ।  राजतन्त्रलाई पुनःस्थापना गर्नुपर्छ भन्नेहरू सपना देखिरहेका छन्’, नेपालले भने ।

 अध्यक्ष नेपालले आफूलाई कमजोर नआँक्न पनि चेतावनी दिए । प्रतिनिधिसभामा १० सिट रहे पनि आफूहरू निर्णायक हुने उनको दाबी छ ।

‘हाम्रो उपस्थितिले मात्र ठूलो परिवर्तन ल्याइदिन्छ । बुझ्दैनन् भने के गर्न सकिन्छ ? हाम्रो हैसियतलाई अवमूल्यन गर्ने काम नहोस् । हाम्रो खुबी क्षमता कसैले पनि ‘अन्डरमाइन्ड’ नगर्नु । हाम्रो शक्ति १० वटा भए पनि निर्णायक हुनसक्छ,’ उनले भने । 

अध्यक्ष नेपालले अहिलेको १० दलीय गठबन्धनलाई मिलाएर लैजानुपर्ने बताए । उनले १० वटा पार्टीले साथ नदिए पनि साथ दिनेका निम्ति के भूमिका खेल्नुपर्छ आफूहरू तयार रहेको बताए । अध्यक्ष नेपालले आफूहरूले चाहेको भए राष्ट्रपति बन्न सक्ने दाबी गरे ।

‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो । तर के हुन्थ्यो थाहा छ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज । कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो । राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे । राष्ट्रपति पाउनु ठूलो थिएन । तर, धोका दिने गरी अघि बढ्न चाहिएन । कांग्रेसलाई राष्ट्रपति बन्नुस् भनेको हो,’ उनले भने । 


 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्