पत्रकारको हितमा आमसञ्चार विधेयक : मुख्यमन्त्री अधिकारी

सोमबार, चैत ६, २०७९

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन् ।

अनलाइन पत्रकार सङ्घ गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन समारोहमा उनले पत्रकारको हितमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाएका हुन् । सरकारले आमसञ्चार विधेयक संसद्मा दर्ता गरेर पनि विचाराधीन अवस्थामा राखेको छ । विधेयक कहिले अघि बढ्छ भन्ने बारेमा भने उनले केही उल्लेख गरेनन् ।

मुख्यमन्त्री अधिकारीले अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पारेकोले व्यवस्थित बनाउनुपर्ने बताए । उनले भने, ‘अनलाइन पोर्टलको सङ्ख्या बढ्दै जाँदा गुणस्तरीयतामा ख्याल गरिएको देखिँदैन । कतिपय अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ । अनलाइन मिडियालाई नियमन गर्न आवश्यक छ ।’

पत्रकारिता क्षेत्र गुणस्तरीय नहुँदा सोको असर अन्य क्षेत्रमा समेत पर्ने भएकाले मिडियालाई व्यवस्थित बनाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभूति हुने बताए । पत्रकारका मुद्दाहरूलाई सरकारले सुनवाइ गर्नुपर्नेमा उनको जोड थियो ।

पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताए । कास्की शाखाका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्दै आमसञ्चार मिडियालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार