१४१ किलो गाँजासहित एक भारतीय पक्राउ

सोमबार, चैत ६, २०७९

पर्सा– वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । 

वीरगञ्ज महानगरपालिका– १६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

इन्र्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद बुझेको सूचना अधिकारी गिरीले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्