काभा भलिबल च्याम्पियनसिप जेठ ६ देखि

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –नेपालमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपमा ८ टिमले सहभागिता जनाउने भएका छन् ।

नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् जेठ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा आठ देश सहभागी हुने जानकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा आयोजना हुने प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ राष्ट्र सहभागी हुनेछन् । प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागिता रहनेछ ।

प्रतियोगितामा करिब दुई करोड ५० लाख खर्च लाग्ने भलिबल संघको अनुमान छ । प्रतियोगिताका लागि राखेपले ५० लाख सहयोग गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएको छ ।

प्रतियोगिता आयोजनाका लागि यसअघि नै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगिताका लागि नेपालले जोसे डी ब्रान्टको नेतृत्वमा महिला टिमको प्रशिक्षण सुरु गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्