भोलीदेखि ११ दिन बेनी–जोमसोम सडक ५ घण्टा बन्द गरिने

बिहीबार, चैत २, २०७९

म्याग्दी– बेनी–जोमसोम सडक खण्ड शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द गरिने भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडक खण्ड मर्मतका लागि यातायात आवतजावत बन्द गरिने भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले ३ चैतदेखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए ।

चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर ६। ७ र ८ चैतमा यातायात सञ्चालन गरिने पन्तले बताए । निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । 

म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्