नेपाल र यूएईबीचको भोलि, टिकटबाट उठ्ने रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने

बुधबार, चैत १, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेलको टिकटबाट उठ्ने रकम क्रिकेट खेलाडीको कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले बिहीबार यूएईविरुद्ध खेल्दैछ । विश्वकप छनोटमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब रहेका कारण पनि यो खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० हजार भन्दा धेरै दर्शक पुग्ने अनुमान छ । र, क्यानले समर्थकबाट उठेको रकम क्रिकेट खेलाडीको कल्याणकारी कोषमा जम्मा गर्ने जनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा हुने यो खेल लिग–२ को अन्तिम खेलसमेत हो । जिम्बाब्वेमा १८ जुनदेखि ९ जुलाइसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोटमा पुग्न नेपाललाई जित्नैपर्ने दबाब छ । यो खेलमा जित निकाले नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ । तर, हारको नतिजाले भने विश्वकप छनोटमा पुग्न पनि नेपालले प्लेअफबाट गुज्रिनुपर्ने छ ।
लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । अहिले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । जुन तेस्रो स्थानमा रहेको नामिबियाभन्दा एक अंक कम हो । यूएईविरुद्ध जित निकाले नेपालले ४० अंकसहित लिग–२ को शीर्ष तीनमा आफ्नो स्थान बनाउनेछ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्