सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी, आन्तरिक पर्यटक बढ्ने अपेक्षा

बुधबार, चैत १, २०७९

गोलबजार– सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । यस उत्तरी दुर्गम भेगमा  मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु चार करोड ८० लाख ८५ हजारको लागतमा उक्त सडक निर्माण भइरहेको छ ।

एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा निर्माण हुन लागेको उक्त सडक यसै आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामदेव खड्काले बताए ।

अहिले यहाँ  साढे तीन किलोमिटर लामो र ३० फिट चौडाइको सडक निर्माण भइरहेको छ । तीन हजार चार सय मिटर सडकमध्ये नौ सय मिटर आरसिसी ढलान र दुई हजार छ सय मिटर अस्फालट कङ्क्रिटसहितको सडक बनाउन माटो सम्याउने कार्य भइसकेको  र छवटा स्ल्याबसहित कल्र्भटको कार्य अन्तिम चरणमा रहेकोे उक्त कार्यालयका  इन्जिनियर रुद्धनारायण पण्डितले बताए । सो सडकको ठेक्का चितवनको  ओएसिस इन्जिनियर एन्ड बिल्डर्सले पाएको छ ।  

हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे रहने उक्त सडकखण्ड निर्माण भइरहेको देखेर स्थानीयवासी खुसी भएका छन् । बाटोको  अभावमा दुर्गम क्षेत्रका रुपमा परिचित यो क्षेत्रमा अब सडक निर्माणले सुगममा परिणत हुने लहान नगरपालिका–९ का वडाअध्यक्ष धुव्र चौधरीले बताए ।

सडकको अभावमा आपत बिपतको बेलामा समयमै बारुद्धयन्त्र वा  एम्बुलेन्स बोलाउन सपना जस्तै भएको थियो तर अहिले सडक निर्माण भएपछि सहज भएको स्थानीयवासी श्याम सदायले बताए । सडक निर्माण भएपछि सार्वजनिक सवारीसाधनका रुपमा तीन पाङ्ग्रे टेम्पु आउन थालेको स्थानीयवासी रीता चौधरीले उल्लेख गरिन् । 

लहान नगरपालिका–१५ मा अवस्थित धार्मिकस्थल पञ्चावती राजदेवी मन्दिर तथा सोही वडामा रहेका  हात्तीदह र दह सिमसार पर्यटकीय क्षेत्र जाने मुख्य बाटो समेत भएकाले यहाँ आन्तरिक पर्यटक बढ्नसक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्