कृषि प्रदर्शनी हुने

मंगलबार, फागुन ३०, २०७९

स्याङ्जा –स्याङ्जाको गल्याङ् नगरपालिकामा २ दिने कृषि प्रदर्शनी गरिने भएको छ ।  चेम्बर अफ कमर्स गल्याङ्ले ३ र ४ चैत्रमा २ दिने आलुसहित कृषि प्रदर्शनी गर्ने भएको हो ।

च्याम्बरका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले किसानलाई कृषि पेशामा प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी गराए । उनले भने, ‘गण्डकी प्रदेशमै ६५ प्रतिशत आलुको बीउ गल्याङमा उत्पादन हुन्छ ।’ कृषिमा आत्मनिर्भर बनाई युवालाई रोजगारको वातावरण समेत बनाउने लक्ष्य लिएको उनले जनाए । 

प्रदर्शनीमा आलु, तरकारी, तरकारीको बिउ, बिरुवा, धान, गहुँ, मकै, अदुवाको बीउ प्रदर्शनीसहित खरिद बिक्री गर्न सकिने भएको छ । गल्याङ्को जिमुवा आलु उत्पादनको पकेट क्षेत्र हो । यहाँका किसानले सामुहिक तथा व्यक्तिगतरूपमा २०६६ सालदेखि व्यवसायिक आलु खेती गर्दै आएका छन् । यहाँबाट मात्र बर्सेनि ३ देखि ४ सय टन आलुका बीउ मात्र बिक्री गरिन्छन् ।

प्रवेश निः शुल्क र प्रदर्शनीमा कृषिका २० वटा स्टल राखिने प्रदर्शनी संयोजक रुमलाल कडेंलले जानकारी दिए । गल्याङ नगरपालिका–३ स्थित खेल मैदानमा हुने भएको छ । प्रदर्शनी सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल समिति र विभिन्न १४ वटा उपसमिति पनि गठन गरिएका छन् ।

प्रदर्शनीमा १० लाख रुपैयाँको व्यापारिक कारोबार गरी ८० हजार रुपैयाँ बचत गर्ने आयोजकको योजना छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार