बढ्यो रासायनिक मलको मूल्य, अब कति पर्छ ?

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– रासायनिक मल महंगो पर्ने भएको छ । सरकारले सरकारले रासायनिक मलमा दिदै आएको अनुदान कटौती गरेकोले महंगो पर्ने भएको हो ।

सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ । रासायनिक मलमा बढी अनुदान दिदा मलको अभाव भएको कारण देखाउँदै सरकारले अनुदान कटौती गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि युरियाको प्रतिकेजी १४ रुपैयाँ,  डिएपीको ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ पथ्र्याे ।

सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

२६ फागुन अघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९.४ प्रतिशतमा झारिएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले अनुदान कटौती गर्दा किसानलाई मल महंगो परेको हो ।

मन्त्रालयकाअनुसार युरिया मलको अनुदान ८०.११ प्रतिशतबाट घटाएर ६४.४९ प्रतिशत कायम गरिएको छ भने डिएपी मलको अनुदान ५९.४ प्रतिशतबाट घटाएर ५२.३८ प्रतिशतमा सीमित गरिएको छ । पोटासमा दिंदै आइएको ५८.२ प्रतिशत अनुदानलाई घटाएर ४६.०९ प्रतिशत कायम गरिएको छ ।

अर्थ मन्त्रालयले मल माथिको परिनिर्भरता बढ्दै गएको भन्दै सरकारी लागत कम गर्न अनुदान घटाउन दिएको निर्देशनका आधारमा अनुदान कटौती गर्ने निर्णय भएको मन्त्रालको दाबी छ । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्