सोमबार पनि २४.६८ अंकले घट्यो नेप्से, कारोबार सवा अर्बमाथि

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २४ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार, साेमबार परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा कारोबार बन्द भएको छ । 

आज १.२५ प्रतिशतले घटेको सेयर बजारमा ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब १६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार करिब २७ अंकले घटेको सेयर बजारमा घट्ने क्रम सोमबार पनि कायमै रह्यो ।

आजको कारोबारमा १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीका सेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडले भने नाफा कमाएका छन् । 

यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ७ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, खप्तड लघुवित्तको ७.६२ प्रतिशतले मूल्य घटेको हो ।

आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ६ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ३७ हजार ५३९ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर लिमिटेडको १६८० पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्