दोस्रो खप्तड–शैलेश्वरी म्याराथन आयोजना हुने

आइतबार, फागुन २८, २०७९

डोटी– सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । 

खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा लाग्ने गंगा दशहरा मेलाको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताए । 

सुदूरपश्चिमका ४ जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमा क्षेत्रमा रहेको भूस्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गंगा दशहरा मेला लाग्ने गर्छ ।

सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता ९पुरुष र महिला० का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उनले जानकारी दिए । 

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरपूर खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको गणपति कार्कीले बताए । 

पुरुषतर्फको म्याराथन प्रतियोगिता खप्तडदेखि सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर रहनेछ भने महिलातर्फको झिंग्रानादेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म २१ किलोमिटर रहने जनाइएको छ ।  

म्याराथनमा पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार र महिलातर्फ प्रथम हुनेले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै पुरुषतर्फ द्वितीयले ८० हजार, तृतीयले ५० हजार पाउनेछन् भने महिलातर्फ द्वितीयले ३० हजार, तृतीयले २० हजार पाउनुका साथै प्रतियोगितामा सान्त्वनादेखि दसौँ स्थानसम्म हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारका साथै सहभागी अन्य प्रतियोगीलाई कप र प्रमाणपत्रको व्यवस्था गरिएको नेपाली सेनाको भैरवप्रसाद गणले जनाएको छ । 

त्यस्तै भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ भने घोडा दौडतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार दिइने छ 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्