घरेलु मैदानमा आठौँ मिनेटमै पछि परेको रियल म्याड्रिडले अन्ततः खेल उल्टायो

आइतबार, फागुन २८, २०७९

काठमाडौँ- घरेलु मैदानमा आठौँ मिनेटमा नै पछि परेको रियल म्याड्रिडले अन्ततः खेल उल्टाएको छ ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियलले पुनरागमन गर्दै क्याटलान क्लब स्पानियोलले लिएको अग्रता उल्टाएको हो । खेल उल्टाउँदै रियलले ३–१ गोल अन्तरको जित निकाल्न सफल भयो ।

खेलको आठौँ मिनेटमा नै जोसेलुले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, स्पानियोलले लिएको अग्रता धेरैबेर टिकेन । खेलको २२ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेलको ३९ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

त्यसपछि पनि रियलले आक्रामक खेल रोकेन । खेलको इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

दोस्रो स्थानमा रहेको रियलले जितसँगै २५ खेलमा ५६ अंक जोडेको छ । स्पानियोल भने २७ अंक जोडेर १४ औँ स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्