धवल पुरस्कार साहित्यकारद्वय पन्थी र गैरेलाई

आइतबार, फागुन २८, २०७९

रामपुर– धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । सो पुरस्कारको राशी नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ । 
 
सांसद ठाकुरप्रसाद गैरे, सो पुस्तकालयका अध्यक्ष युवराज पौडेल,  महासचिव राजेशकुमार अर्याललगायतले शनिबार आयोजित कार्यक्रममा संयुक्त रूपमा साहित्यकारद्वयलाई  पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा   पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद  गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदोरूपमा आधुनिकीकरण गर्दै पूर्णरूपमा ‘डिजिटल’ पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सो पुस्तकालयले विसं २०७७ देखि ती पुरस्कार प्रदान गर्न सुरुआत गरेको थियो । सो वर्ष दीर्घसाधना पुरस्कारबाट साहित्यकार नीलकण्ठ न्यौपाने र सिर्जना पुरस्कारबाट निर्मलप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो  ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्