टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसंघीय एजेन्सीहरूको सहयोग

शनिबार, फागुन २७, २०७९

एजेन्सी– टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले निरन्तर रूपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरूले जनाएका छन् ।संयुक्त राष्ट्रसंघका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रूपमा सहयोग उपलब्ध गराएका जनाएका छन् ।

सिरियामा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ । सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरूमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।

ती प्रवक्ताका अनुसार राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरुले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरूमा ती एजेन्सीको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ ।

राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरुका लागि काम गरिरहेका बताइएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०५:४४
प्रतिक्रिया दिनुहोस्