५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

शुक्रबार, फागुन २६, २०७९

जाजरकोट–बारेकोट गाउँपालिकाले ५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । 

सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । 

गाउँपालिकाले वडा –१, २ र ३ बाट कामको सुरुआत गरेको उनको भनाइ छ । यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा ४३१ घरधुरीमा चालु आर्थिक वर्षभित्र खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ । 

यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । कुल २ करोड २९ लाख ५९ हजार २७८ रुपैयाँमा योजना सञ्चालन गरिएको हो । 

त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका १२८ घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पु¥याउनका लागि आफूहरू लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ शाहको भनाइ छ । 

हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ । जनसङ्ख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष गिरीको भनाइ छ ।

पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उनको भनाइ छ । यसले पानीको सही सदुपयोग गर्दै पानीसँग सम्बन्धित विवाद पनि समाधान हुने उनको विश्वास छ ।

जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ ।

पानीका मूल अहिले के प्रयोजनका लागि प्रयोग भइरहेका छन् ? आगामी दिनमा ती पानीको मुहानलाई के काममा प्रयोग गर्न सकिन्छ ? यसको पनि समुदायकै सहभागितामा लेखाजोखा गरिने भएकाले बारेकोट गाउँपालिकाभित्र यसको सबै अध्ययन हुने अध्यक्ष गिरीले बताए । 

जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्