आँबुखैरेनीमा आलु मेला

शुक्रबार, फागुन २६, २०७९

तनहुँ-आँबुखैरेनी गाउँपालिकामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ सुरु भएको छ । 

कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री वितरण गर्ने लक्ष्यका साथ शुक्रबारदेखि आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला शनिबारसम्म चल्नेछ ।

गाउँपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङबेंसीको एभोकाडोका बिरुवा अत्यधिक बिक्री भएको छ ।  स्थानीयस्तरमा उत्पादित कृषि, पशु तथा बाँसजन्य वस्तु हाटबजारमा बिक्री गर्न पाउँदा कृषक खुसी भएक छन् ।

आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्र सय र बरादीलाई तरकारी पकेट क्षेत्रका रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ र सालाखाला गरी बिक्री गरिनेछ । मेलामा आलुबाट बनेका परिकार आलु पकौडा, आलु चप, चटपटलगायतका विभिन्न परिकार राखिनेछ । 

कृषकलाई निःशुल्करुपमा स्टल उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका मातहतमा छ वटै वडा, टोल विकास संस्था, आमा समूह, सहकारी संस्था, शिक्षक, कलाकार, क्लब, नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्थालाई पत्रचार गरिएको बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार