आँबुखैरेनीमा आलु मेला

शुक्रबार, फागुन २६, २०७९

तनहुँ– आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ सुरु भएको छ । 

कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री वितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए । 

गाउँपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङबेंसीको एभोकाडोका बिरुवा अत्यधिक बिक्री भएको उनले बताए । 

स्थानीयस्तरमा उत्पादित कृषि, पशु तथा बाँसजन्य वस्तु हाटबजारमा बिक्री गर्न पाउँदा कृषक खुसी भएको उनको भनाइ छ । 

आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्र सय र बरादीलाई तरकारी पकेट क्षेत्रका रूपमा लिइएको छ । उक्त २ वडामा उत्पादन गरिएका आलु ग्रेडिङ र सालाखाला गरी बिक्री गरिनेछ । मेलामा आलुबाट बनेका परिकार आलु पकौडा, आलु चप, चटपटलगायतका विभिन्न परिकार राखिनेछ । 

कृषकलाई निःशुल्क स्टल उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका मातहतमा ६ वटै वडा, टोल विकास संस्था, आमा समूह, सहकारी संस्था, शिक्षक, कलाकार, क्लब, नागरिक समाजलगायत विभिन्न संघसंस्थालाई पत्राचार गरिएको बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार