मेरो यात्रा

जुन घरले बुहारीलाई सरकारी सेवामा प्रेरित गर्‍यो

महिलाले यसरी गर्न सकिन्छ लाेक सेवा तयारी
बुधबार, फागुन २४, २०७९

२०६६ साल चैतमा लेखा अधिकृतमा नाम निकालेपछि मेरो पोस्टिङ पोस्टिङ कोष तथा लेखा नियन्त्रक कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा भयो । त्यहाँ करिब ५ वर्ष काम गरेपछि सडक विभागमा सरुवा भयो । 

सडक विभागमै काम गर्दै गर्दा उपसचिवमा नाम निकालेर लेखा छाड्दै सामान्य प्रशासन समूहमा छिरेँ । २०७२ साल असार ६ गते आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा नाम निस्कियो । 

आन्तरिक प्रतिस्पर्धामा कुनै कोटा हुँदैन । सबैले समान प्रतिस्पर्धा गर्ने हो, लोक सेवा आयोगले लिने परीक्षामा लिखित र अन्तर्वार्ता दुवै पास गर्नुपर्छ ।

त्यसपछि सहसचिव पदमा आन्तरिक प्रतिस्पर्धा खुलेपछि भाग लिएँ । सहसचिवमा पनि लिखित र अन्तर्वार्ता दुवै पास भएपछि २०७८ फागुन १६ गते मेरो नियुक्ति भयो । आन्तरिक स्पर्धामा सहसचिवमा पनि कोटा हुँदैन । 

लेखा अधिकृतका रूपमा सरकारी सेवा प्रवेश गरेको १३ वर्षपछि सहसचिव भएँ । त्यसमध्ये करिब ७ वर्ष उपसचिवका रूपमा काम गरेँ । सबै पदमा लिखित परीक्षा र अन्तर्वार्ता पास गरेरै नियुक्ति पाएँ ।

जुन पृष्ठभूमिमा हुर्किएँ

मेरो जन्म घर रुपन्देही हो । यहाँका थोरै कम मान्छे मात्रै निजामती सेवामा प्रवेश गरेका छन् । मेरा श्रीमान्को घर पर्वत जिल्ला हो । पर्वतको सो क्षेत्रबाट पनि निजामती सेवामा प्रवेश गर्नेहरूको संख्या निकै कम छ । बरु शिक्षण पेसामा धेरै जना सहभागी भएको पाइन्छ । 

लोक सेवामा पहिलो पटक नाम निकाल्दा मेरो बिहे भइसकेको थियो । म व्यवस्थापन संकायमा स्नातकोत्तर गर्दै थिएँ ।

परीक्षा त कुनै पनि सहज हुँदैनन् । तर, कुन परीक्षा कति गाह्रो र कति सहज भन्ने कुरा व्यक्ति विशेषको क्षमता, अध्ययन शैली जस्ता कुरामा पनि निर्भर गर्छ ।

लोक सेवाको परीक्षा तुलनात्मक रूपमा अलि कठिन त हो । तर, अरूले भन्ने गरेजस्तो  बिघ्नै कठिन भने होइन रहेछ भन्ने अनुभव गरेँ । किनभने पहिलो परीक्षामा नै मैले लेखा अधिकृतमा नाम निकालेँ । १ नम्बरमा सिफारिस भएँ । उपसचिव पनि मैले पहिलो पटकमै पास गरेँ । 

sushila aryal (2)1678271570.jpg

तर, सहसचिवमा भने म दोस्रो पटकमा सफल भएँ । पहिलो पटक अन्तर्वार्तामा सफल भइनँ, वैकल्पिकमा परेँ । र, दोस्रो पटकमा भने म अन्तर्वार्तामा पनि सफल भएर सिफारिसमा परेँ ।

पढ्ने शैली, लगाव र एकात्मकतालाई निरन्तरता दिन सकियो भने लोक सेवाको परीक्षा पनि भनिए जति गाह्रो होइन जस्तो लाग्छ । मेरो अनुभव अरूसँग नमिल्न पनि सक्छ । 

बुहारीका रूपमा पाएको सपोर्ट

मेरो मागी बिहे भएको हो । केटा र केटी पक्षबाट शैक्षिक विषय र व्यक्तिगत क्षमताका कुराबारे चर्चा हुनु स्वाभाविक हो, मेरो पनि भयो । मेरो पढाइ राम्रै छ भन्ने थाहा पाएर माग्न आउनुभएको रहेछ । 

पढाइलाई निरन्तरता दिन र करिअर विकासमा साथको प्रतिबद्धतापछि म बिहे गर्न राजी भएँ । बिहेपछि मैले मेरो पढाइ र करियरमा फोकस हुन कुनै समस्या भोग्नुपरेन । तिमी बुहारी हौ, यति काम सक्नैपर्छ भनेर बुबाआमाले कहिल्यै भन्नुभएन ।

तथापि, बिहेपछि हामी प्रायः बेग्लै रह्यौँ । मेरा श्रीमान् काठमाडौँमा हुनुहुन्थ्यो । उहाँ पनि सरकारी सेवामै हुनुहुन्छ । 

मैले परिवारबाट यस्तो राम्रो वातावरण पाएँ कि मेरो क्षमता मैलेभन्दा बढी मेरा श्रीमान्ले पहिचान गरिदिनु भयो । किनभने उहाँ जहिले पनि ‘परीक्षा देऊ, परीक्षा दिएपछि पास भइन्छ’ भन्नुहुन्थ्यो । एक पटक परीक्षा दिएर हेर, पक्का नाम निस्किन्छ भनेर हौसला दिइरहनुभयो ।

sushila aryal (3)1678271570.jpg

म तराई (रुपन्देही) को मान्छे । त्यताका मान्छेको निजामतीमा त्यति आकर्षण हुँदैन, ममा पनि थिएन ।

मैले एक पटक नेपाल टेलिकमको परीक्षा दिएँ । रिजल्ट निस्किँदा म पास भएँ । त्यतिबेला वैकल्पिकमा मेरो नाम निस्किएको थियो । त्यसैले सिफारिस भइनँ ।

यत्तिकै परीक्षा दिँदा त पास भइँदो रहेछ भने अलि तयारी गर्दा त झन् कसो नहोला भन्ने लाग्यो । स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा र लोक सेवाको लेखा अधिकृतको परीक्षा सँगैजसो दिएँ । दुवैमा पास भएँ । 

घरको अत्यन्त सहयोगका कारण म सरकारी सेवामा सहजै प्रवेश गर्न सफल भएँ । तर, मेरो जस्तो सजिलो वातावरण अरूको नहुन पनि सक्छ । 

काममा सहजता र समस्या

महिला भएका कारण काममा केही सहज हुन्छ भने केही असहज । व्यवहारका कारण सहजता र असहजता अनुभव गरिने हो । हाम्रो समाजले पहिल्यैदेखि महिलालाई संरक्षित वर्ग र पुरुषलाई संरक्षण गर्ने वर्गका रूपमा लिने गरेको छ । महिलाले घर व्यवहार चलाउनुपर्ने र पुरुषले त्यसका लागि सम्पूर्ण व्ययभार तथा दायित्व उठाउनुपर्ने संस्कारबाट हामी आएका हौँ । 

त्यसको प्रतिविम्ब अझै पनि कार्य स्थलमै पनि देखिन्छ । त्यसमा केही कारण छन् भन्ने मलाई लाग्छ । हाम्रो स्कुलिङ नै त्यहीअनुसार भयो । यसमा कुनै व्यक्तिलार्य दोष दिनु बेकार छ । सोसाइटीकै ‘माइन्डसेट’ त्यही छ ।

पुरुषलाई पनि महिलाले सक्दैनन् कि भन्ने छ । कतिपय अवस्थामा महिलामा पनि सक्दिनँ कि भन्ने भावना देखिन्छ । जिम्मेवारी प्राप्त गर्ने कुरामा हाम्रो व्यवहारका कारण केही फरकपना देखिन्छ । 

तर, जिम्मेवारी प्राप्त भइसकेपछि महिलाले अत्यन्तै राम्रोसँग आफूलाई प्रमाणित गरेको अवस्था छ । अहिले ९ जना महिला सिडिओ सा’बहरूले जिल्लामा गएर काम गरिरहनुभएको छ । तर, जिम्मेवारी प्रदान गर्ने सवालमा भने अझै पनि व्यक्त/अव्यक्त रूपमा विभेद कायमै छ । 

लोक सेवा तयारी कसरी गर्ने ?

अध्ययन वा अन्य कुनै पनि क्षेत्रमा प्रवेश गर्न हाम्रो समय, परिवेश, परिस्थितिका कारण पुरुषका लागि जति सहज छ, महिलालाई त्यति सहज छैन । निश्चित केही काम महिलाकै लागि भनेर तोकिएका छन् । निश्चित केही काम पुरुषकै लागि भनेर तोकिएका जस्ता छन् । 

यो परिस्थितिको राम्रोसँग सामना गर्नुपर्छ । किनभने परिवार नै बिग्रिने गरी विद्रोह गर्न सक्ने अवस्था पनि रहँदैन । यसका लागि परिवारले नै सहज वातावरण बनाइदिनुपर्छ ।

र, महिलाले पनि आफ्नो क्षमता पहिचान गर्नुपर्छ । म यो गर्न सक्छु भन्ने कुरा सबैलाई थाहा हुन्छ । आफ्नो क्षमताको पहिचान व्यक्ति स्वयंले गरेको हुन्छ । 

sushila aryal (1)1678271570.jpg

मेरो अनुभवमा कामको प्राथमिकीकरण गर्ने र कुन कामका लागि कति समय दिने भनेर छुट्ट्याउने गर्नुपर्छ । जस्तो– घरभित्रको काम छ भने त्यो काम कति बजेसम्म गरिसक्ने भनेर समय किटान गर्नुपर्छ । निर्धारित समयमा गरिसक्ने र त्यसपछि त्यो काममा नअल्झिने । अध्ययनलाई छुट्ट्याएको समयमा अध्ययन गर्ने । 

साँझ अबेरसम्म बस्न सकिन्छ भने साँझ अबेरसम्म बस्ने वा बिहान सबेरै उठेर गर्नुपर्ने काम निर्धारण गरिएको छ भने त्यही बेलामा उठेर गर्ने । अर्थात् समय व्यवस्थापनमा सबैभन्दा बढी ध्यान दिने ।

आफूलाई उपलब्ध समयलाई नै व्यवस्थापन गरेर कामको प्राथमिकता निर्धारण गर्ने हो भने जस्तो काम पनि गर्न सकिन्छ भन्नेमा म ढुक्क छु । 

कसरी लेख्ने ?

यो कुरा भने कसले कसरी लेख्यो भन्ने कुरामा भर पर्छ । मैले एक तरिकाले लेखेँ, पास भएँ । अर्काेले अर्काे तरिकाले लेख्नुभयो, पास हुनुभयो । त्यसैले यही नै तरिका छ भन्ने होइन । 

मेरो अनुभवले के भन्छ भने लेखाइमा बहकाव होइन सटिकता हुनुपर्छ । प्रश्नले जे खोजेको छ, त्यो मात्रै लेख्ने अभ्यास गर्नुपर्छ । हाम्रो चलन के हुन्छ भने प्रश्नले एउटा कुरा मागेको हुन्छ, हामीले जानेजति सबै लेखिदिन्छौँ । प्रश्नले नखोजेको कुरा लेखेर काम हुँदैन । 

अर्काे कुरा, लेख्ने बानी बसालौँ । अध्ययन गरिरहौँ । आफूले अध्ययन गरेका कुरा लेख्ने गरौँ । हामी पढेका धेरै कम कुरा मात्रै लेख्ने गर्दा रहेछौँ । पढेका कुरा टिपोट गरिहालौँ । कहीँ जाँदा केही नयाँ कुरा सिक्न पाइयो वा देखियो भने टिपोट गरिहालौँ । त्यो बेला नै लेख्न पाइएन भने भरे घरमा आएर लेखिहालौँ । आफ्नो लेखनशैलीलाई मैले यसरी परिस्कृत गरेको छु ।

र, म आफैँले प्रश्न बनाउथेँ । ती प्रश्नको उत्तर आफैँ लेख्थेँ । लेखिसकेपछि आफैँले कपी जाँच्ने काम पनि गर्थेँ । यसो गर्दा आफ्नो पहिलेको स्तर कहाँ थियो, अहिले कहाँ छ र यसरी मिहिनेत गर्दै गयो भने कहाँसम्म सुध्रिन सक्छ भनेर जान्न पनि यो काम मलाई सहयोगी भयो । म सक्छु भन्ने आत्मबल पनि बढाउँदो रहेछ । 

मैले आफूलाई कहिल्यै कमजोर ठानिनँ । अरूभन्दा एकदमै अब्बल छु भन्ने ‘ओभर कन्फिडेन्ट’ पनि कहिल्यै आएन । मेरो सिद्धान्त र मान्यता के रह्यो भने सबै प्रतिस्पर्धी म जत्तिकै हुन् । केही क्वालिटी उनीहरूमा होला, केही क्वालिटी ममा छ । ममा भएको क्वालिटीको प्रयोग गरेर म गर्न सक्छु ।

समान स्तरका प्रतिस्पर्धीबीचमा प्रतिस्पर्धा गर्ने हो । त्यसैले नसक्ने भन्ने हुँदैन । सकिन्छ भन्ने मेरो सिद्धान्त हो । त्यही आत्मबलले मलाई अगाडि ल्याएको होला ।

लेखनमा मेरो कुनै निश्चित फर्म्याट थिएन । प्रश्नले जुन फर्म्याट माग्थ्यो, मैले त्यही फर्म्याटमा लेखेँ । 

अन्तर्वार्तामा कसरी सफल हुने ?

अन्तर्वार्तामा सफल हुने सिद्धान्त पनि मैले अघि उल्लेख गरेका कुरा नै हुन् । अन्तर्वार्ता फेस गर्ने मेरो तरिका के थियो भने आफूसँग सम्बन्धित विषयको जानकारी राख्ने । म कुन सेवाको, कुन समूहको, कुन पदका लागि हो भन्ने विषयसँग सम्बन्धित कुराहरूको जानकारी राख्ने । त्यसरी जानकारी राखेपछि त्यो विषयसँग सम्बन्धित कुराहरूमा आफूले मोटामोटी ज्ञान हासिल गर्ने । यसो गरियो भने अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको जबाफ दिन सहज हुन्छ ।

अनुमानका आधारमा जबाफ दिनुहुँदैन । गलत जबाफ दिनु भएन । अन्तर्वार्ता भनेको आफूले डोर्‍याउने कुरा पनि रहेछ । किनभने अन्तर्वार्ताकार यो कुरा सोध्छु भनेर बसेको हुँदैन रहेछ ।

तत्कालीन समयमा जुन परिस्थिति निर्माण हुन्छ, अन्तर्वार्ताकारले त्यही प्रश्न सोध्ने रहेछ । त्यसैले अन्तर्वार्ताकारलाई आफ्नो दख्खल भएको क्षेत्रतिर डोर्‍याउन जान्नुपर्छ । उसँग नभएका तर आफूसँग भएका केही जानकारी दिएपछि अन्तर्वार्ताकार त्यतातिर डोरिन्छ । 

यसो गर्दा अन्तर्वार्ता लिने व्यक्तिलाई असहज अनुभूत पनि नहोस् र यसले मलाई यता तान्न खोज्यो भन्ने पनि नलागोस् । त्यसमा आफूले विशेष कौशल प्रयोग गर्नुपर्छ ।

अन्तर्वार्ता लिने व्यक्तिले सोधेका कुरामा पनि नयाँ कुरा थप गरिदिएपछि ऊ यतातिर जान्छ । यसलाई यो कुरा पनि थाहा रहेछ अलिकति सोधौँ न भन्दाभन्दै अन्तर्वार्ताकार आफूले लान चाहेको ठाउँमा पुगिसकेको हुन्छ ।

अन्तर्वार्तामा सबै प्रश्न आफूले जानेका मात्रै हुँदैनन् । नजानेका प्रश्नमा पनि उच्च मनोबलका साथ यसमा मेरो अध्ययन पुगेको रहेनछ, यो मलाई जानकारी रहेन भनेर भन्नुपर्छ ।

र अत्यावश्यक कुरा, अन्तर्वार्तामा प्रस्तुत हुँदा जहिले पनि हँसमुख स्वभावमा प्रस्तुत हुनुपर्छ । डराएको जस्तो, त्रसित भए जस्तो, पिर मानेको जस्तो देखिनु भएन ।

डर लाग्न सक्छ । किनभने नयाँ मान्छेसँग नयाँ विषयमा कुरा गर्नुपर्ने हुन्छ । तर, उच्च मनोबलका साथ प्रस्तुत हुनुपर्छ । यति भयो भने अन्तर्वार्तामा पास भइन्छ भन्ने लाग्छ । म यसैगरी पास हुँदै आएकी हुँ । 

महिलालाई सल्लाह

हाम्रो अध्यात्मले हाम्रो शरीर क्षणभंगुर छ भन्छ । शरीरभित्र आत्मा छ । आत्मा रहुन्जेल यो शरीरको अस्तित्व छ । मेरो मृत्युपछि कसैले पनि मलाई सुशीला भन्दैन, शव भन्छ । सुशीला शव कसैले पनि भन्दैन । सुशीला भनेको मेरो आत्मा रहेछ । 

आत्मा स्वयंमा महिला र पुरुष हुँदैन । शरीरलाई वस्त्रका रूपमा लिने हो भने आत्माले महिलारूपी र पुरुषरूपी वस्त्र धारण गर्ने रहेछ । कुन शरीर वा वस्त्र धारण गर्‍यो भन्दैमा आत्माको क्षमता फरक हुँदैन । अर्थात् महिला र पुरुष भनेको देखिने कुरा मात्रै हो । 

त्यसैले महिलाले सक्ने पुरुषले नसक्ने वा पुरुषले सक्ने महिलाले नसक्ने भन्ने हुँदैन । हामी सबै सक्षम छौँ । शरीर विशेषका केही जैविक भूमिका होलान् । यीबाहेक सबै भूमिका सबैले समान रूपमा बहन गर्न सक्छौँ ।

सबैसँग समान क्षमता हुन्छ । सबैले आफ्नो क्षमताको पहिचान गरौँ । त्यसपछि त्यो क्षमताको उपयोग गर्ने तरिका आआफ्ना हुन्छन् । कसरी उपयोग गर्दा आफ्नो क्षमता बढी प्रदर्शन हुन्छ, परिवार, समाज र राष्ट्रका लागि योगदान गर्न सक्छु भन्ने कुरा पहिचान गरेर सोहीबमोजिम लाग्नुपर्छ । म कोहीभन्दा बढी छैन र कोहीभन्दा कम छैन भनेर लागौँ । 

(राष्ट्रिय किताबखाना (निजामती) की उपमहानिर्देशक अर्यालसँग गरिएको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्