सांसद भण्डारी र पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

बुधबार, फागुन २४, २०७९

काठमाडौँ –प्रतिनिधिसभाका २ जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुने भएका छन् । सांसदहरू चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने भएका हुन् । नेपाली कांग्रेसका सांसद् भण्डारी र माओवादी केन्द्रका सांसद् पुन विदेशमा उपचाररत रहेका कारण मतदानमा भाग लिन नपाउने भएका हुन्  भण्डारी भारतमा र पुन चीनमा उपचारत छन् ।

४ फागुनमा आगलागीमा परी घाइते भएका भण्डारीको अहिले मुम्वइस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै जण्डिसका कारण बिरामी परेका पुनको चीनको बेइजिङस्थित अस्पतालमा उपचार भइरहेको छ । 

राष्ट्रपति निर्वाचन बिहीबार हुँदैछ । मतदानमा दुवै सांसद् उपस्थित हुने सम्भावना पनि छैन ।

संघीय संसद्का २७५ सांसद्मध्ये २७० जनाले मात्रै मतदान गर्नेछन् । सांसदमा निर्वाचित भएपनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद् पद खारेज भएको छ । जनता समाजवादी पार्टीकी सांसद् सहनाज रहमानको १३ फागुनमा निधन भएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी कूल २७५ जना सांसद छन् । राष्ट्रिय सभामा ५९ जना सांसद् छन् । संघीय संसदमा ३३४ र प्रदेश सभाका ५५० जना गरी ८८१ जना सांसदले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्न पाउनेछन् ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३१ र सातै प्रदेशका प्रदेश सभा सदस्य ५५० कायम छ ।

८ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्