नेभिगेशन
अर्थ विविध

आर्थिक तथा बैंक वित्तीय क्षेत्रका विज्ञसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा प्रधानमन्त्री दाहालले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिवलगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गरेका हुन् ।

बैठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए ।

प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताए ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ । लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु ।’

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका  थिए । बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहेका थिए । 

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन् । बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न सक्दैनौं, मिनाहा गर्नुपर्छ भन्दै व्यवसायीहरू सडक आन्दोलनमा छ । बैंकहरूले ब्याजदर बढी लिएको भन्दै उनीहरू आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री दाहालले यिनै विषयमा सरोकारवालासँग छलफल गरेका हुन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध