सामाजिक सञ्जालले जुटायो उपचार खर्च

शुक्रबार, फागुन १९, २०७९

दमौली– तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियन्ता गलबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत् १ किशोरको उपचार खर्च जुटाएका छन् । 

फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पुर्‍याउन खर्च जुटाएका हुन् । 

फोक्सो र कलेजोमा जुकाले अन्डा बनाएपछि पीडित बनेका मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश–विदेशबाट उपचार खर्च जुटाइएको हो । हालसम्म ३ लाख ५० हजार रुपैयाँ संकलन भएको गुरुङले बताए ।

संकलित रकम दमौलीमा पीडित मौरातीलाई हस्तान्तरण गरिएको छ । उठेको रकममध्ये १ लाख ७८ हजार ४७८ रुपैयाँ आज हस्तान्तरण गरिएको हो । बाँकी रकम भने यसअघि नै पीडितलाई हस्तान्तरण भइसकेको छ । 

बुबाको मृत्यु भइसकेको र घरको आर्थिक अवस्था कमजोर भएपछि मौरातीको परिवारले सहयोगको अपिल गरेको थियो । गुरुङले मौरातीको उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् अनुरोध गरेपछि तनहुँ घर भई विभिन्न देश पुगेका तथा जिल्लाबाहिर रहेकाले सहयोग गरेका छन् । 

‘अहिलेको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको प्रयोग गर्दै केही रकम संकलनको प्रयास गरेका छौँ, यो रकमले बालकको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ गुरुङ भन्छन्, ‘हालसम्म उठेको रकम पीडितलाई हस्तान्तरण गरेका छौँ । अझै पनि केही दाताले रकम हस्तान्तरण गर्न बाँकी छ ।’

गत भदौदेखि फोक्सो र कलेजोमा समस्या आएपछि मौरातीले औषधि सेवन गरिरहेका छन् । उपचारका क्रममा फोक्सो र कलेजोमा जुकाले अन्डा पारेको पत्ता लागेको थियो । 

‘सुरुमा खोकी लाग्ने, वान्ता आउला जस्तो हुने लक्षण देखिएको थियो । पछि उपचारका लागि परीक्षण गराउँदा त्यस्तो रोग लागेको पत्ता लाग्यो,’ पीडितका दाइ कृष्ण मौरातीले भने, ‘घरको आर्थिक अवस्था राम्रो नभएपछि सहयोगको अपिल गरिरहेका छौँ ।’

पीडित बालकको फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने कलेजोको सर्जरी गर्न बाँकी छ । ‘फोक्सोको ओपन सर्जरी सफल भइसकेको छ । दोस्रो पटक पाइपमार्फत् कलेजोको शल्यक्रिया गरिएको थियो, केही समयपछि चिकित्सकले पुनः उपचारका लागि बोलाएका छन्,’ उनले भने । 

सबैले धेरथोर सहयोग गरिदिए बालकको उपचारमा सहयोग हुने भन्दै उनले सहयोगको अपिल गरे । उनको उपचारमा हालसम्म ३ लाखभन्दा बढी खर्च भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार