बद्री पंगेनीलाई प्रश्न : कसरी फुर्‍यो ‘पैसा सापटी’ गीत ? [भिडियो]

भन्छन : २५–३० जनाले सापटी लगे होलान्, फिर्ता दिँदैनन्
शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– अहिले सामाजिक सञ्जालमा लोकदोहोरी गायक बद्री पंगेनीको गीत ‘पैसा सापटी’ भाइरल भएको छ ।

पंगेनी र रचना रिमालले गाएको सो गीत युट्यबमा सार्वजनिक भएको ४८ घन्टा नबित्दै ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

गीतमा समस्या पर्‍यो भन्दै पैसा सापटी माग्ने र सापटी लगिसकेपछि समयमै फिर्ता नगर्ने समस्या समावेश गरिएको छ ।

‘हातले दियो खुट्टालाई दुःख’ भन्ने जस्ता नेपाली जनजिब्रोका शब्द गीतमा समावेश गरिएको छ ।

साथीभाइ तथा इष्टमित्रले सापटी माग्ने तर समयमै फिर्ता नदिने समस्या आमनेपालीको समस्या भएकाले आफूले गीतमा सो विषय समेटेको गायक पंगेनीले बताए । 

‘तपाईँ झुट बोल्नुहुन्न भने सापटी दिएपछि तपाईँको पनि साथी सम्बन्ध बिग्रिएको होला । आफन्त टाढा भएका होलान् । नदिँदा साथीभाइ वा आफन्त रिसाउने, दिएपछि पैसा फिर्ता नगर्ने आमसमस्या भएको छ । मैले यही विषयलाई गीतमा समेटेको हुँ,’ पंगेनीले सिएन नेपालसँग भने ।

उनले पछिल्लो समय आर्थिक मन्दी बढेकाले समस्या झनै चर्किएको पनि बताए ।

‘पछिल्लो समय सापटी माग्ने र सापटी लगेपछि नदिने वा दिन नसक्नेहरूको संख्या बढेको छ । देशमा आर्थिक मन्दी लागेको छ, सापटी लगेपछि नदिने समस्या विकराल बनेको छ,’ पंगेनीले थपे ।

उनले सापटी दिएपछि कुनै प्रकारको लिखत राख्न पनि सुझाए । लिखत नहुँदा पैसा दिएर पनि प्रमाण खोई ? भन्दै समस्या सिर्जना गर्नेहरूलाई सहज हुने उनको भनाइ छ ।

‘गीतमा पनि देखाइएको छ, मैले भोगेको पनि छु । भिडियोमा देखाइएको विषय र मेरो अनुभवका आधारमा के भन्छु भने कसैलाई पैसा सापटी दिँदै हुनुहुन्छ भने कम्तीमा पनि केही लिखत राख्नुहोला । जसले गर्दा सापटी दिने र लिने दुवैलाई सहज हुन्छ, सम्बन्ध कायम रहन्छ,’ पंगेनीले भने ।

आफूले सापटी दिए पनि फिर्ता नहुने समस्या भोगेका कारण पनि यो गीत तयार पार्न सहज भएको उनको भनाइ छ ।

‘मैले केही साथीभाइ वा आफन्तसँग सापटी लिएको पनि छु, दिएको पनि छु, लिएकाको भन्दा दिएकाको संख्या धेरै छ । मैले सापटी लिएकाहरूको पैसा फिर्ता गरेको छु, दिएकाहरूमध्ये धेरै जनाले सापटी फिर्ता गरेका छैनन् । अहिलेसम्म हिसाब गर्ने हो भने २५ देखि ३० जनाले सापटी लगेर फिर्ता गरेका छैनन् होला,’ पंगेनीले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्