पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

बुधबार, फागुन १७, २०७९

पोखरा– पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।

निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सीधा हवाई उडान गर्ने तयारी गरेको छ ।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटीमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिबद्ध छ’, स्टेसन म्यानेजर गौतम बरालले भने । उनले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिए ।

म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् ।

काठमाडौँ, भैरहवा, नेपालगन्ज नियमित उडान भइरहेको छ भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दुरी १ घन्टा १० मिनेटको हुनेछ ।

पोखरा–भद्रपुर सीधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सीधा उडान सञ्चालन गर्न लागिएको उनले बताए ।

यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने म्यानेजर बरालको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटी बढ्ने र आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

‘पोखरा पर्यटकीय सहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सीधा उडानले सहज गराउनुका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ’, उनले भने ।

अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेकोप्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गरे ।

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकले छिटोे र आरामदायी यात्रामा रुचि राख्ने हुँदा जति एयर कनेक्टिभिटी हुन्छ, पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए ।

पोखरा–भद्रपुर सीधा उडानले पर्यटन प्रवद्र्धन हुने उनको भनाइ थियो । सीधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए ।

योसँगै बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दै छ । पोखरा बास बस्ने गरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको संख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ ।

अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घन्टा बिताउनुका साथै २४ देखि २७ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ । तर, हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिन्छ भने हवाई भाडा ९ हजार ६८५ रुपैयाँ पर्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्