कोरोना भाइरस चिनियाँ प्रयोगशालामा तयार भएको अमेरिकी दाबी

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई)का निर्देशकले कोरोना भाइरस चिनियाँ प्रयोगशालामा बनेको दाबी गरेका छन् ।

एफबिआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यस्तो दावी गरेका हुन् ।

‘कोभिड–१९ ‘चिनियाँ सरकार नियन्त्रित प्रयोगशाला’ मा तयार गरिएको हो । एफबिआइले लामो समयदेखि महामारीको उत्पत्ति प्रयोगशालाबाट भएको भनी आंकलन गरेको छ’, उनले भनेका छन् ।

कोरोनाभाइरसको प्रकोपपछि एफबिआईको यो पहिलो आधिकारिक बयान हो । तर चीनले यसअघि नै यस्ता आरोप अस्वीकार गर्दै आएको छ । क्रिस्टोफरको भनाइभन्दा एक दिनअघि चीनका लागि अमेरिकी राजदूतले चीनलाई कोरोना भाइरसबारे इमान्दार हुन आग्रह गरेका थिए ।

‘चीनले विश्वव्यापी महामारीको स्रोत पहिचान गर्ने प्रयासलाई तोडफोड गर्न र अवरोध गर्न सक्दो प्रयास गरिरहेको छ । यो सबैका लागि दुर्भाग्य हो’, निर्देशक रेले भनेका छन् ।

केही अध्ययनहरूले यो भाइरस चीनको वुहानको प्रयोगशालामा तयार पारिएको बताउँछन् । यहाँबाट यो भाइरस जनावरमा पुग्यो र त्यसपछि जनावरबाट मानिसमा स¥यो ।

वुहानमा विश्वको अग्रणी भाइरस प्रयोगशाला वुहान इन्स्टिच्युट अफ भाइरोलोजी रहेको छ । एफबिआइका अनुसार यहीँ कोरोनाबारे अनुसन्धान भइरहेको थियो ।

अक्टोबर २०२१ मा अमेरिकी शीर्ष जासूस अधिकारीले जारी गरेको प्रतिवेदनले चार अमेरिकी गुप्तचर एजेन्सीहरूले यो संक्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पन्न भएको जनाएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा गरिएको अनुसन्धानले प्रयोगशाला चुहावट सिद्धान्तलाई ‘असम्भव’ भनेको छ ।

कोरोना भाइरसको पहिलो केस २०१९ मा आएको थियो । यो चीनमा पुष्टि भएको हो । त्यसयता विश्वका सबै देशमा यसका केसहरू देखा परेका छन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म ६७ करोडभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् भने ६८ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्