मनाङमा ट्राफिक नियम सचेतना कार्यक्रम 

बुधबार, फागुन १७, २०७९

मनाङ– हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो ।

नासों गाँउपालिका–३ स्थित बेँसीसहर–मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवीन भण्डारीले जानकारी दिए ।

‘इलाका प्रहरी कार्यालय धारापानीको आयोजनामा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी चालक, सहचालक र स्थानीयवासीलाई सचेत गराइएको हो,’ भण्डारीले भने, ‘जोखिम सडकमा यात्रा गर्दा सचेतना बढी अपनाउनपर्ने हुन्छ । यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।’

वर्षायाम सुरु हुन लागेकाले जिल्लामा सवारी आवागमन बढ्ने उनले बताए । दुर्घटनारहित सुरक्षित यात्रा गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

हिउँदमा चिसो छल्न जिल्ला बाहिर गएका जिल्लावासी फर्किने क्रम सुरु भएको छ । यसले गर्दा अब जिल्लामा सवारी आवागमन र पर्यटक आउने उपयुक्त मौसम सुरु भएकोले पर्यटक सवारी बढ्न सक्ने हुँदा सुरक्षित बनाउन सचेतना कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्