नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ : आरजु राणा

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् । 

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नेपालमा डिजिटल प्रणाली सुरुआत गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको उनले बताइन् । 

नेपाली सेनाको अभिलेख टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् । 

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षालगायत सबैखाले तथ्यांक चोरी हुने खतरा रहेको बताइन् । 

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आइटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको बताइन् ।

त्यस्तै नेविसंघका सभापति दुजाङ शेर्पाले नेविसंघको अबको एजेन्डा शैक्षिक, सामाजिक, युवाहरूलाई उद्यमशील बनाउने, नेपालमै युवाहरूलाई टिकाउने र जलवायु परिवर्तनको एजेन्डामा केन्द्रित रहेको बताए । 

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनुसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको पनि बताए ।

त्यस्तै पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरूको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बताए । 

कार्यक्रमले ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयको ढिलो नतिजा प्रकाशनबारे पनि समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको बताए ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरू समाधान गर्ने लक्ष्य राखेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्