स्कालोनी २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको प्रशिक्षक रहने  

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– लियोनल स्कालोनी सन् २०२६ को फिफा विश्वकपसम्म अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रहने भएका छन् ।

४४ वर्षीय वर्तमान प्रशिक्षक स्कालोनीले हालै सम्झौता नवीकरण गर्दै २०२६ सम्मका लागि टिम सम्हाल्न राजी भएका हुन् ।

सम्झौता नवीकरण भएसँगै स्कालोनीले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने फिफा विश्वकपसम्म अर्जेन्टिनाको टिम हेर्नेछन् । यद्यपि, यसका लागि उनको टोलीले छनोट चरण पार गर्नुपर्ने छ । 

स्कालोनीले गत डिसेम्बरमा अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि जिताएका थिए । उनले ३६ वर्षदेखिको खडेरी तोडेका हुन् । 

साथै, स्कालोनीले अर्जेन्टिनालाई २०२१ मा कोपा अमेरिकाको उपाधिसमेत दिलाएका थिए ।

अर्जेन्टिनाले २०१८ मा स्कालोनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनी वर्तमान कप्तान लियोनल मेसीका पूर्वसहकर्मी खेलाडीसमेत हुन् ।

यसैबीच, विश्वकप विजेता अर्जेन्टिनाले अर्को महिना अर्थात मार्चमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अर्जेन्टिनाले पनामा र कुराकाओसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अर्जेन्टिनी फुटबल संघले जनाएको छ । यी दुवै खेल घरेलु मैदानमा हुनेछन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्