नेभिगेशन
समाज विविध

सर्वोच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

काठमाडौँ –क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति सर्वोच्च अदालतले दिएको छ ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो ।

लामिछानेको मुद्दामा आइतबारदेखि जारी सुनुवाइ सकिए पछि सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिइएको हो ।

लामिछानेले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा सर्वोच्चामा एकसाथ सुनुवाइ भएको थियो ।

सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए । 

सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए ।

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । 

यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।

आइतबार यी दुवै निवेदनमाथि संयुक्त सुनुवाइपछि लामिछानेको पक्षमा आदेश भएको छ । उच्च अदालतले विदेश जान नपाउने सर्तसहित लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध