नेभिगेशन
समाज विविध

झ्याप–झ्याप विजुली : के भन्छ प्राधिकरण ?

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले ४ सय केभी अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको भारतखण्डमा समस्या आउँदा एक घण्टा अवरुद्ध भएको जनाएको छ ।

प्रणालीमा समस्या आएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भारप्रेषण केन्द्र पुगेर निरीक्षण गरेका छन् ।

उनले गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई समेत तत्काल समस्या समाान गर्न निर्देशन समेत दिए । शाक्यले प्राविधिक समस्या भएकाले लोडसेडिङमा नजोड्न समेत आग्रह गरेका छन् । भारतबाट नेपालमा आयात गरिएको बिजुली लाइनमा समस्या आएपछि बिहीबार बेलुका कम्तिमा डेढ घण्टा काठमाडौंसहित पोखरा, मध्य र पूर्वी नेपालका सबैजसो नागरिकहरु अन्धकारमा बस्न बाध्य भए ।

‘प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ढल्केबर गृड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिइ समस्या समाधानका लागि अग्रसरता लिनु भएको छ, यो बिशुद्ध प्राबिधिक समस्या हो त्यसैले यसलाइ लोडसेडिङसँग जोड्ने कुरा गलत हो,’ सचिवालयले भनेको छ, ’समस्या समाधान पश्चात् हाल लाइन सुचारु भएको छ ।’

‘ठूलो हावाहुरीका कारण प्रशारण लाइनमा समस्या आएका कारण बिजुलीको लाइन गएको हो’, शाक्यले भने । उनले काठमाडौं, पोखरा, मध्य र पूर्वी नेपालमा एक घण्टा बढी समस्या देखिएको बताए पनि प्राधिकरणका अर्का एक अधिकारीकाअनुसार देशभर नै बिजुली प्रणालीमा समस्या आएको थियो ।

‘त्यहाँ बनाउन धेरै समय लाग्यो । अरु प्रणालीमा पश्चिमतिर चलेको छ । पूर्व र काठमाडौंमा समस्या हो’, शाक्यले भने, ‘हामीले भारततर्फबाट सहयोग मागेर बनाउँदा अलि ढिला भएको हो ।’ तर प्राधिकरणका उच्च अधिकारीका अनुसार चितवन पश्चिमतिर पनि बिजुली गएको थियो । यसैबीच सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना गरेका छन् ।

बिहीबार पटक–पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । कतै पुरानै लोडसेडिङका दिन फर्किने त होइन भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभर विद्युत् अवरुद्ध