धम्क्याएरै सेयर किन्न थाले ठुला लगानीकर्ता

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– पछिल्ला २ कारोबार दिन सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सेयर खरिद गर्ने ठुला लगानीकर्ता हाबी हुँदा अधिकांश कारोबार समय सेयरको मूल्य घट्ने र कारोबार बन्द हुने समयमा बजार करिब स्थिर देखिने गरेको हो ।

साताको पहिलो दिन आइतबार पनि बजारमा यस्तै प्रवृत्ति देखियो । सो दिन सेयर बजार मापक(नेप्से) परिसूचक घटेर १९६१.२४ बिन्दुमा पुग्यो भने २०२९.६६ बिन्दुसम्म पुग्यो ।

आइतबार बजारमा ६८.४२ अंकको उतारचढाव देखिएको थियो । आइतबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.५५ अंकले बढेको थियो ।

सोमबार पनि सेयर बजारमा सोही प्रवृत्ति देखियो । कुनै समय सेयर परिसूचक २०४३.९९ बिन्दुमा पुग्यो भने घटेर १९९०.२७ बिन्दुमा पुग्यो । 

सोमबार बजारमा ५३.७२ अंकको उतारचढाव देखियो । आज कारोबार बन्द हुँदा नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा रोकिएको छ । 

आइतबार ०.१८ प्रतिशतले घटेको सेयर बजारमा १३५ कम्पनीकाे सेयर मूल्य घटेको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

सोमबार ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेयर बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड, सामलिङ पावर कम्पनी र तारागाउँ रिजेन्सी होटल लिमिटेडले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ६ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार, राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडेको ६.४३ प्रतिशतले मूल्य घटेको हो ।

आज हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ५९ हजार ६९९ कित्ता सेयर कारोबार भएको छ ।  सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको १०३० पटक कारोबार भएको छ  ।

सरकार परिवर्तन हुने संकेत देखिएपछि सेयर बजारमा तीव्र उतारचढाव देखिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्