समर्थन फिर्ता लिँदै प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने एमालेको निर्णय

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ । 

च्यासलमा जारी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले सिएन नेपाललाई जानकारी दिए । 

एमालेका उपाध्यक्ष विष्णु पौडेलले बैठकको निर्णय जानकारी गराउँदै भने, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ ।’ 

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले पूर्वसहमति तोडेर नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेसँगै एमाले चिढिएको छ । एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । 

एमाले पुस १० को सहमति कार्यान्वयको पक्षमा रहेको तर प्रधानमन्त्रीको व्यवहारको कारण सरकारमा बसिरहन सक्ने अवस्था नभएको पौडेलले बताए । 

‘प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो । जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौडेललाई रोक्नुभयो । उहाँले एमाले सरकारबाट नहटे बिनाविभागीय मन्त्रीका रुपमा राख्ने जस्ता अभिव्यक्ति दिएपछि हामी सरकारमा बस्न सकेनौं’, पौडेलले भने । 

राष्ट्रपति निर्वाचनको लागि पुस १० मा भएको सहमति प्रचण्डले कार्यान्वन नगरेको पौडेलले बताए । ‘अरु दलको समर्थनमा काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर, पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ’, पौडेलले भने ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्