अर्को वर्षसम्म ५ लाखको स्वास्थ्य बिमा : मन्त्री गिरी

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताएका छन् । 

सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताए । उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भए पनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताए ।

उनले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताए ।

‘आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन्, जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्, गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो,’ उनले भने, ‘तर पनि फोहोर सफा गर्न फोहोरभित्र पस्नुपर्छ । त्यो बुझेरै म यहाँ आएको हुँ ।’

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा ५ लाखसम्मको स्वास्थ्य बिमा गर्ने तयारीअनुसार काम भइरहेको बताए ।

उनले अहिलेको स्वास्थ्य बिमाभित्र देशभरका मानिस समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आममानिस आउने गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको जनाए । 

जस्तोसुकै दीर्घरोगीहरूको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताउँदै उनले उत्कृष्टता स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको भन्दै बिमा गराउनेहरू घरदैलो गरेर बिमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे ।

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताए ।

सातै प्रदेशमा डायलासिस सेवाका लागि प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका मन्त्री गिरीले अबको ३ महिनाभित्र नै सातै प्रदेशमा डायलाइसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री गिरीले अस्पतालका सबै सेवा डिजिटल प्रणालीमा लैजाने दाबी गरे । 

स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूलाई सम्मान गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्