होली सुरु : हनुमानढोकामा ३ तले चीर ठड्याइयो

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारमा ३ तले चीर ठड्याइएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिन्छ ।

आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रूपमा होली पर्व सुरु भएको मानिने बताए ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्