बालबालिकालाई वडाको निःशुल्क ‘ट्युसन’

आइतबार, फागुन १४, २०७९

झापा– दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो ।

वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांश बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् ।

विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त ट्युसन कक्षा सञ्चालन गरिँदै आएको वडाअध्यक्ष कुवेर भट्टराईले जानकारी दिए ।

यहाँका विद्यार्थी स्थानीय महालक्ष्मी आधारभूत र पाणिनी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त कमजोर विद्यार्थीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको हो ।

ट्युसनका लागि वडाले कार्यक्रममा नै बजेट समावेश गरेको वडाध्यक्ष भट्टराईले बताए ।

‘विद्यार्थीलाई पढाइमा अब्बल बनाउन यस किसिमको कार्यक्रम सुरु गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार आएको छ,’ उनले भने ।

दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन ।

दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांश विद्यार्थी शिक्षाबाट वञ्चित छन् । ‘शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रयास गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ,’ वडाध्यक्ष भट्टराईले भने । 

वडाले यसका लागि ७५ हजार रुपैयाँ बजेट छुट्याएको छ । वडाको दीपज्योति उराव बस्तीमा सञ्चालित ट्युसन कक्षामा कक्षा १ देखि ६ सम्मका ४३ तथा कक्षा ७ देखि १० सम्मका ३० बालबालिका सहभागी हुँदै आएका छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्