‘उज्यालो भरतपुर अभियान’को दोस्रो चरणको काम सुरु हुँदै

आइतबार, फागुन १४, २०७९

चितवन –भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलब १ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको सहकार्यमा महानगरमा यो अभियानसुरु गरिएको हो ।

पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ । पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रोचरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम वैशाखको पहिलो सातासम्ममा सकिने छ ।

दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको १ वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा विभिन्न ठाउँमा ८ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ । पहिलो चरणमा सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिएको छ । महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्यअभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० रुर्पैयाँमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा २६ करोड ५० लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको छ ।

दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदै छ । महानगरप्रमुख दाहालले महानगरलाई आउँदो ५ वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताए ।

यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताए ।

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगत तथा सुदृढिकरण गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाअन्तर्गत रहेर महानगरपालिकाको पुलचोक–केन्द्रीय बसटरमिनल–गोन्द्राङ् र केन्द्रीय बसटरमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम सुरु भएको र यसका लागि १ अर्ब २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो ।

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकदेखि केन्द्रीय बस टरमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्म ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गर्न लागिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले महानगरका २ सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागेको हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्