क्यानको साधारण सभा सुर्खेतमा सुरु हुँदै

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ ।

क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । २ दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी–२० लिगको विषयमा छलफल हुनेछ ।

गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिगमा विभिन्न विवाददेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो ।

पहिलो संस्करणमै निकै विवाद बनेपछि नेपाल टी–२० लिग अब कसरी अगाडि बढाउने भन्ने विषयमा साधारण सभामै छलफल गर्ने निर्णय गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

यस्तै व्यावसायिक तथा रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौताको विषयमा पनि छलफल हुनेछ ।

यस बाहेक साधारण सभा संघको २०२३ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदनको विषयमा पनि छलफल हुनेछ । आर्थिक नियमावली संशोधनको विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्