पोल्यान्डले भन्यो– रूसबाट पाइपलाइन तेल आपूर्ति रोकियो

आइतबार, फागुन १४, २०७९

वार्सा–पोल्यान्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रूसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ ।

‘पोल्यान्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसी पक्षले रोकेको छ’, पोल्यान्डको कम्पनीमार्फत एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ ।

यो कदमले पोल्यान्डका ग्राहकहरूलाई आपूर्तिमा असर नपार्ने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ ।

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।

युक्रेनमा रूसको युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू)ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्