५ हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

शुक्रबार, फागुन १२, २०७९

उगादुगुउ– बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप ५ हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ ।

कम्तीमा ५ वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो । 

संसारको गरिबमध्येको देश बुर्किनाफासो सन् २०१५ देखि विद्रोही आक्रमणविरुद्ध लडिरहेको छ ।

रक्षामन्त्री कर्णेल मेजर कासौम कुलिबालीका अनुसार राष्ट्रिय सशस्त्र बलमा उनीहरूलाई समावेश गरिनेछ ।

यही फेब्रुवरी २८ देखि भर्ती प्रक्रिया प्रारम्भ हुनेछ । १ वर्षभन्दा कम अवधिमा बुर्किनाफासोको सेनाले सैन्य भर्ती अभियान आयोजना गरेको यो तेस्रो पटक हो । 

पश्चिमी बाउकल डु मौहौन क्षेत्र र उत्तरमा साहेल बुर्किनाफासोका १३ वटा क्षेत्रमध्ये हिंसाबाट अधिक प्रभावित छन् ।

बितेका ७ वर्षमा १ हजारभन्दा बढी नागरिक र सैनिक मारिएका छन् भने करिब २० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।

देशको ४० प्रतिशत भूभाग अतिवादी समूह अल–कायदा र इस्लामिक समूहसँग सम्बद्ध जिहादीको नियन्त्रणमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्