विदेश जान पाउनुपर्ने माग गर्दै सन्दीप पुगे सर्वोच्च अदालत, भोलि सुनुवाई

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले देशको प्रतिनिधित्व गरेर विदेश जान पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । 

बिहीबार अपराह्न सर्वोच्च अदालत गएर सन्दीपले देशको प्रतिनिधित्व गरेर विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका हुन् । 

नाबालिक बलात्कारको आरोप खेपिरहेका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटी र १० सर्त सहित पुस २९ गते रिहा गरेको थियो । उच्च अदालतले उनको राहदानी रोका गरि विदेश जान प्रतिबन्ध लगाएको छ । 

नेपालमा भएको विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका लामिछाने युएई भ्रमणको १५ सदस्यीय नेपाली टोलीमा परेका छैनन् । उक्त विषयलाई लिएर आज सन्दीपले देशको प्रतिनिधित्व गरेर विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्। 

सन्दीपका वकिल सरोज कृषण घिमिरेका अनुसार निवेदन दर्ता गराएको र भोलि पेसी तोकिएको छ ।  घिमिरेले सर्वोच्च पुगेर विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा विभिन्न सञ्चार माध्यमले दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको विषयलाई लिएर निवेदन दिएको बताए ।

यसअघि नै सरकारी पक्षले समेत लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । उक्त निवेदनको सुनुवाई पनि भोलि नै हुँदैछ । 

यदि उनको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी युएई जान पाउने छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्