मतदाता नामावलीमा नाम समावेश गराउन माग

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँचवटा निवेदन परेको छ ।

ती निवेदनमा चारवटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन् । मतदाता नामावलीमा दाबी विरोधका लागि बिहीबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको थियो ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।

अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सांसद र प्रदेशशभा सदस्यले मतदान गर्न पाउनेछन् । मतदान यही फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्