हमिद कारजाई र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेट

बिहीबार, फागुन ११, २०७९

काबुल– अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका उपविशेष प्रतिनिधि मार्कस पोट्जेलसँग भेट गरेका छन् । 

सो अवसरमा उनले देशमा दिगो शान्ति स्थापनाका लागि राष्ट्रिय वार्ताको आवश्यकतामा जोड दिएका छन् । 

बुधबार कारजाईको निवासमा भएको भेटमा उनीहरूले अफगानिस्तानको वर्तमान अवस्थाका साथै छात्राहरूका लागि विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्नेबारे पनि छलफल गरेको बताइएको छ । 

तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले राष्ट्रिय वार्ताको समय सकिएको र त्यस्तो वार्ता आवश्यक नभएको टोलो न्युजसँगको कुराकानीमा उल्लेख गर्दै राष्ट्रिय वार्ताको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्