प्राधिकरणका कारण चक्रपथ विस्तारमा समस्या हुँदैन : कुलमान घिसिङ

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा सडकखण्डको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् । 

उनले कलंकी–बसुन्धरा सडकखण्डमा अब १५ वटा जति पोल हटाउन बाँकी रहेको र १५ दिनभित्रमा हटाइसक्ने बताए । प्राधिकरणका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको उनको भनाइ थियो ।

त्यस्तै  काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८।२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताइन् । 

जसअन्तर्गत रहेका करिब ३०० बिजुलीका पोल हटाइसकेको र अब २२ वटा पोल मात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको उनले बताइन् । 

उनले सडक छेउमा रहेका १९ वटा मन्दिरमा गोंगबुमा रहेको मन्दिरबाहेक अन्य सबै मन्दिर स्थानान्तरण गरिसकेको पनि बताइन् ।

दोस्रो चरणमा कलंकीदेखि बसुन्धरासम्म मात्रै चक्रपथ विस्तार हुने बताइन् । 

दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० लगायतले सडक अनुगमन एवं निरीक्षण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्