नेभिगेशन
अर्थ विविध

आउँदो बर्खामा थप ४५२ मेगावाट विद्युत् भारत निर्यात गर्ने तयारी

१० वटा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न भारतले दियो स्वीकृति

काठमाडौँ– आउँदो बर्खायाममा नेपालबाट ४५२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ ।

यसअघि विभिन्न १० वटा जलविद्युत् आयोजनाको ४५२ मेगावाट बिजुली जेठ लागेसँगै निर्यात सुरु गरिने नेपाल विद्युत् प्राधिकरणअन्तर्गत विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले सिएन नेपाललाई जानकारी दिए ।

आउने बर्खायाममा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट बिजुली निर्यात गर्ने तयारी रहेको उनले बताए ।

‘१० वटा जलविद्युत् आयोजनामा ५४२ मेगावाट बिजुली निर्यातका लागि भारतले स्वीकृति दिइसकेको छ,’ उनले भने, ‘हामीले आउने बर्खायाममा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत बिजुली निर्यात गर्छौँ ।’ 

१० वटासम्म स्वीकृति दिए पनि थप आयोजनाको बिजुली पनि निर्यात हुने सम्भावना रहेको अधिकारीले बताए ।

‘बर्खा आउने बेलासम्म अन्य ४/५ आयोजनाको बिजुली निर्यातका लागि पनि प्रस्ताव आउन सक्छ,’ उनले भने, ‘यसले थप बिजुली भारतीय बजारसम्म पुर्‍याउन सक्ने अवस्थामा छौँ ।’

निर्यात हुने बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री गर्ने गरी भारतले स्वीकृति दिइसकेको छ ।

२४ मेगावाटको काबेली बी१ र १९ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीसमेत गरी कुल ४५२ मेगावाट बिजुली भारत निकासी हुनेछ ।

गत बर्खायाममा भारतले स्वीकृति नदिँदा नेपालमा करिब ५०० मेगावाट बिजुली खेर गएको निजी ऊर्जा प्रवर्द्धकहरू बताउँछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध