नेभिगेशन
अर्थ विविध

बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता

बागलुङ - बुकीपाटनको उत्तरतिर देखिने अनगिन्ती हिमशृङ्खला। चारैतिर हरियाली पहाड। ती पहाडका डाँडैभरि सेता भेडाका बथान। छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ। 

जहाँ केही दुख, केही खुसी र केही आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँग भेटिन्छन् भर्खर जन्मिएका भेडाका पाठा। जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ। समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ।  

हिजोआज ती भेडीगोठ र भेडाका बथान हेर्न बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन्। हजारौं भेडा र सयौं गोठालको बासस्थान बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ। यो बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ। त्यो हरियालीमा सेता भेडाका बथानले बुकीपाटनको सुन्दरतालाई बढाएको छ। पाँच वर्षअघिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्र प्यारो थियो। तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लागि अझ प्रिय बनेको छ।  

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौं पर्यटक लालायित छन्। ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन। उच्च पहाडी क्षेत्र भएकोले लेक लाग्ने सम्भावना बढी हुन्छ। पछिल्लो दुई वर्षदेखि बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन्। बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन। अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लने गर्थे। यो वर्ष भने पदमार्ग बनेको छ।  

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेडीगोठमा पुग्छ। ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्रामा बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ। गर्पाछेडा पुग्दा बित्तिकै चारैतिर हजारौंको सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकान नै मेटिन्छ। बुकीपाटनमा आउने धेरैजसो पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेडीगोठाला भक्त अदैले बताए।  

पाँच वर्षअघिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उनले सुनाए। आफूहरू बच्चादेखि बुकीपाटनमा बस्ने भएकोले यहाँको सुन्दरतासँग रमाउने बानी परिसकेको उनको भनाइ छ। पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाको जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताए। पर्यटक आउन थालेपछि बुकीपाटनमा पहलपहल बढ्न थालेको उनले बताए।  

‘हामी रहरले बुकीमा बसेका होइनौं, तर अहिले मान्छे रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाट हामी जीविकोपार्जन गर्छौं, पहिले गोठाला मात्र हुन्थे, बाहिरी मान्छे कोही आउँदैनथे, अहिले हिउँदसम्म बाहिरी मान्छेको चाप हुन्छ,’ उनले भने, ‘सहर बजारका मान्छेले भेडाको बथान नदेखेकोले होला, यहाँ आए भने घण्टौं भुल्छन्, हामीलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई/तीन दिन यहाँ बस्छन्।’  

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत धेरै बुकीपाटन क्षेत्र पर्छन्। यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौं गोठाला अस्थायी गोठ बनाएर बस्छन्। सयौं गोठालाको हजारौं सङ्ख्यामा भेडाबाख्रा, गाईभैंसीले बुकीपाटन ढपक्क ढाकिएको हुन्छ। एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन्। धेरै ठाउँबाट गोठालाले भेडा लिएर आउँदा सिङ्गो पहाड ढपक्क ढाकिन्छ। रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाए।  

आफू झन्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चराउन आएको सुनाउँदै पहिले कोही पनि घुम्न नआउने उनको भनाइ छ। रोल्पाबाट दुई साता लगाएर भेडीगोठ लिएर आएको घर्तीमगरले बताए। आफूले झन्डै एक हजार ७०० भेडा पाल्दै आएको उनको भनाइ छ। एकै ठाउँमा हजारौंको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्तीमगर बताउँछन्। पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उनले सुनाए।  

उनले भने, ‘बुकीपाटन त हामीजस्ता गोठालाको लागि घाँसको भण्डार हो, यहाँ जति गए पनि जति भेडा चराए पनि चार/पाँच महिनालाई प्रशस्त घाँसले पुग्छ, यहाँको घाँस पोषिलो हुने भएकोले भेडा सप्रिन्छन्, त्यसले गर्दा बर्खाको समय बुकीपाटन आउँछौं, अहिले त गोठाला मात्र होइन, पर्यटक पनि बुकीपाटन आउन थाले, उनीहरूले यहाँ आएर हाम्रो भिडियो बनाएर जान्छन्, के–केमा आउँछ हेर्नु होला भन्छन्, हामीसँग मोबाइल पनि छैन, केही छैन केबाट हेर्ने?’  

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ। यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्छन्। कात्तिकपछि चिसो बढ्ने भएकोले बेंसी झर्छन्। भैरवाहदेखि बुकीपाटन आएका प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताए। आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यवसायीले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उनको भनाइ छ। आफूले अहिलेसम्म एकै ठाउँमा हजारौं भेडा नदेखेको ज्ञवालीले सुनाए।  

‘बुकीपाटनमा म पहिलोपटक आएको हुँ, यति अग्लो उचाइमा पहिलोपटक आएको, त्यसमाथि जिन्दगीमा पहिलोपटक पहाड ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखें, यो मेरो जीवनकै अविस्मरणीय हुनेछ,’ ज्ञवालीले भने, ‘यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भए, अहिले छोटो समयका लागि आएको थिएँ, अर्कोपटक आउँदा धेरै दिन बस्ने गरी आउने छु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती