Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस वर्ष ८११ मेगावाट बिजुली थपिने प्रक्षेपण, ५०० मेगावाट बिजुली आयात

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० भित्र कुल ८११ मेगावाट बिजुली उत्पादन भई ग्रिडमा थपिने प्रक्षेपण गरेको छ ।

सरकारको स्वामित्वको प्राधिकरण र त्यसका सहायक कम्पनी र निजी क्षेत्रबाट गरी कुल ८११ मेगावाट बिजुली उत्पादन हुने लक्ष्य लिइएको हो ।

आउँदो चैतसम्म ५४३ मेगावाट र २०८० असार मसान्तसम्म २६८ मेगावाट गरी चालु आवमा ८११ मेगावाट विद्युत् उत्पादन भई ग्रिडमा थपिने प्राधिकरणको प्रक्षेपण छ । 

प्राधिकरणका अनुसार हालसम्म (साउन देखि फागुन पहिलो सातासम्म) १६२ मेगाबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

त्यस्तै, ३५ मेगावाटका ३ वटा जलविद्युत् आयोजना विद्युत् उत्पादनको परीक्षण र ‘ट्रायल’ परीक्षणकै फेजमा रहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत् आयोजना, ५४ मेगावाटको सुपर दोर्दी खोला (ख), ४४ मेगावाटको सुपर मादी, १४.९ मेगावाटको माया खोला, १८ मेगावाटको मध्य मोदी, १५.३ मेगावाटको कलंगाढ, २८.१ मेगावाटको तल्लो लिखु, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१, ३६ मेगावाटको अपर बलेफी, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १४.८ मेगावाटको अपर सान्जेन, ५१ मेगावाटको लिखु ‘ए’ जस्ता ठुला क्षमताका जलविद्युत् आयोजना यस वर्ष सम्पन्न हुने प्रक्षेपण छ ।

प्रक्षेपण गरिएकामध्ये धेरै जसो जलविद्युत् आयोजना चालु आवमा सम्पन्न भई विद्युत् उत्पादन हुने प्राधिकरणअन्तर्गतको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले सिएन नेपाललाई जानकारी दिए ।

कुल ८११ मेगावाट बिजुली उत्पादन थपिने प्रक्षेपण गरिएकोमध्ये कम्तीमा ६०० मेगावाट बिजुली थपिने सम्भावना रहेको उनी बताउँछन् ।

‘८११ मेगावाट विद्युत् चालु आवभित्र प्रणालीमा आउँछ भन्ने हाम्रो प्रक्षेपण छ । त्यसमध्ये निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट पनि विद्युत् उत्पादन हुनेछ,’ उनले बताए ।

७३० मेगावाट उत्पादन, ५०० मेगावाट आयात

हाल विद्युत् प्राधिकरणको कुल जडित क्षमता २४०० मेगावाट हाराहारी पुगेको छ । तर, विद्युत् उत्पादन ७३० मेगावाट हाराहारी भइरहेको छ । कारण, हिउँदको सिजन भएकाले नदीमा पानी सतह निकै घटेको छ ।

पानीको बहाव घटेका कारण सञ्चालनमा आएका आयोजनाको क्षमताभन्दा धेरै कम अर्थात् क्षमताभन्दा एक तिहाइभन्दा कम मात्र विद्युत् उत्पादन भइरहेको छ । 

विद्युत् उत्पादन भइरहेका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका हुँदा सधैँ हिउँदमा विद्युत् उत्पादन घट्ने गरेको छ । 

विद्युत् आपूर्ति कम हुँदा यहाँको माग धान्न भारतबाट ५०० मेगावाट बिजुली आयात गरिएको छ । हिउँदमा पनि ‘पिक पावर’ मा १२०० मेगावाट बिजुलीको माग हुने गर्छ ।

७०० मेगावाट हाराहारीमा उत्पादित बिजुलीबाहेक बाँकी अपुग हुने बिजुली भारतबाट ल्याएर माग सन्तुलन मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले करिब ८०० मेगावाट बिजुली यस आवमा थपिने र राष्ट्रिय प्रणालीमा कुल जडित क्षमता ३००० मेगावाटभन्दा बढी पुग्ने बताए ।

विद्युत् उत्पादन बढेसँगै त्यसको व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रिड कनेक्टिभिटी र सबस्टेसन जस्ता पूर्वाधार संरचना निर्माण र स्तरोन्नतिमा प्राधिकरणले जोड दिइरहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्