नेभिगेशन
अर्थ विविध

वैदेशिक व्यापारका ७ सूचकांक : दुइटाबाहेक सबैमा ‘नेगेटिभ ग्रोथ’

काठमाडौँ– नेपालको वैदेशिक व्यापारका अधिकांश सूचकमा ‘नेगेटिभ ग्रोथ’ (ऋणात्मक वृद्धिदर) देखिएको छ । वैदेशिक व्यापारका प्रमुख ७ सूचकमध्ये ५ सूचकमा नेगेटिभ ग्रोथ देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, यस्ता सूचकमध्ये केही सूचकको नेगेटिभ ग्रोथले नेपाललाई फाइदा हुने पनि देखिन्छ । 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात निर्यात अनुपात र कुल वैदेशिक व्यापारमा आयातको अंश बढेको देखिएको हो । अन्य सूचकहरू कुल आयात, कुल निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार, कुल व्यापारमा निर्यातको अंश घटेका हुन् ।

विभागका अनुसार गत माघ मसान्तसम्म नेपालले ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले १९.९ प्रतिशतले कम वस्तु तथा सेवा आयात गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि नै नेपाल राष्ट्र बैंकले वस्तु तथा सेवा आयातमा कडाइ गरेको थियो । केही वस्तुको आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको थियो ।

यस्तै, सरकारले पनि केही वस्तुको आयात रोकेको थियो । सोही कारण पनि चालु आर्थिक वर्षमा वस्तु तथा सेवा आयात कम भएको देखिएको हो ।

सानो परिमाणमा रहने गरेको निर्यात अझै घटेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालबाट जम्मा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात व्यापार करिब २९ प्रतिशतले घटेको हो । 

आयात कम भएको कारण नेपालको व्यापार घाटा पनि कम भएको छ । गत माघ मसान्तसम्ममा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा व्यापार घाटा १८.७१ प्रतिशतले घटेको हो ।

आयात र निर्यात दुवै घटेका कारण नेपालको कुल वैदेशिक व्यापार पनि घटेको छ । भन्सार विभागका अनुसार गत माघ मसान्तसम्ममा नेपालको वैदेशिक व्यापार १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबर भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ बराबर भएको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार २०.८४ प्रतिशतले घटेको हो ।

यस्तै, कुल व्यापारमा निर्यातको अंश पनि घटेको छ । विभागका अनुसार गत माघ मसान्तसम्ममा नेपालको कुल व्यापारमा निर्यातको अंश ९.२३ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश १०.२९ प्रतिशत थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल व्यापारमा निर्यातको अंश १०.३५ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध