जलवायु परिवर्तनले न वर्षा न हिमपात

मंगलबार, फागुन ९, २०७९

मनाङ –यस वर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । 

हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन । 

मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा सिँचाइको अभाव देखिनेछ । पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ । मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् । 

हिमाली जिल्ला मनाङमा यसपटक हिमपात भएको छैन । यस वर्ष बेमौसममा हिमपात भयो । तर हिमपात हुने समयमा भने हिमपात हुनसकेन । मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । 

प्रायःजसो मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो । तर, हिमपात हुँदा जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीयवासी चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेँसी झर्ने गर्दछन् । चिसो छल्न मनाङवासी बँेसी झरे पनि हिमपात हुने समयमा यस पटक हिमपात भएन । 

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले किसानका लागि समयमै हिमपातको महत्व रहेको छ । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताए । कहिलेकाहीँं पानीको छिटा परे पनि हिउँपर्ने सङ्केत नदेखिएको लामाले बताए । 

उनका अनुसार ४ हजार २०० मिटर उचाइमा रहेको नार र ४ हजार ५० मिटर उचाइमा रहेको फूगाउँ चिसोका कारण यतिबेला खाली भए पनि हिमपात भएको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन् । 

विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । यसपटक सोहीअनुसारको व्यवस्था गरिए पनि हालसम्म हिउँ नपरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गाना खनालले मनाङमा हालसम्म जिल्लामा हिमपात नभएको जानकारी दिइन् । माथिल्लो मनाङमा हल्का हिमपात भए पनि आवश्यक मात्रामा हिमपात नभएको बताइन् । 

मनाङमा जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । मङ्सिर, पुसमा हिउँ परे मात्रै जमिनमुनि चिस्यान पुग्छ र खेतीपाती हुन्छ । अहिले हिउँ परेन खेतीबाली राम्रो हुँदैन । तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्ने किसान बताउँछन् । 

हिमपात नभए पनि यहाँ चिसो बढ्दै गएपछि विकास निर्माणका कार्य गर्न रोकिन्छ । चिसो बढेसँगै माथिल्लो मनाङको पूर्वाधार निर्माणको काम पूर्ण रुपमा ठप्प हुन्छ । गतवर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको निर्माणाधीन भौतिक संरचना निर्माणका कार्य अहिले रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतको विकास निर्माणका कार्य रोकिएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले बताए । 

चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न नसकिएको विष्टले बताए । 

मनाङको मेरुदण्डको रूपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माणकार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उनले बताए । यससडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । 

विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद व्यवस्थापन विभागबाट ३ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणको लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा २२ करोड रुपैयाँको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकार्य सकिने अवस्थामा जाडो मौसमले गर्दा केही ढिलाइ हुने भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्