टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा १ खेलाडी परिवर्तन

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेल्दै छ । 

यसैबीच, नेपालका कप्तान रोहितकुमार पौडेलले आज पनि टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । यसअघिका सबै खेलमा उनले यस्तै निर्णय गरेका थिए ।  

आजको खेलमा नेपालले १ खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलसन झाको स्थानमा ललितनारायण राजवंशीलाई मौका दिएको छ । टोलीमा अन्य कुनै परिवर्तन छैन ।

घरेलु मैदानमा जारी  शृंखलामा लगातार ३ खेल जितेर उच्च मनोबल बनाएको नेपाल आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दै छ । 

खेल नेपाली समयअनुसार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । 

जारी सिरिजमा खेलेका ३ वटै खेल नेपालले जितेको छ । पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा बलियो मानिएको स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्‍याे ।

यस्तै, तेस्रो खेलमा नामिबियालाई पनि ३ विकेटले नै हरायो । हरेक खेलमा २७५ भन्दा बढीको लक्ष्य पनि हासिल गर्दै जित निकालेपछि नेपालको मनोबल उच्च छ । आज पनि नेपाल जितकै लागि मैदानमा उत्रने छ । कम्तीमा एक दिवसीय मान्यता जोगाइराख्न पनि नेपाललाई जितको विकल्प छैन ।

क्रिकेट विश्वकप लिग– २ उपाधि भने स्कटल्यान्डले जितिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार